पोखरामा कर तथा अन्तःशुल्कसम्बन्धी अन्तरक्रिया सम्पन्न
राज्यलाई सघाउँदै मर्यादित व्यवसायमा जोड
मदिरा व्यवसायी समिति, कास्कीको आयोजनामा पोखरामा कर तथा अन्तःशुल्कसम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी दायराभित्र रही सञ्चालन गर्ने वातावरण निर्माण गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मुख्य अतिथिका रूपमा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव प्रसाद ढुङ्गानाले व्यवसायीहरूले राज्यको कानुनी परिधिभित्र रहेर कर र अन्तःशुल्क चुक्ता गर्नुपर्नेमा जोड दिनुभयो .
उहाँले मदिरा व्यवसाय संवेदनशील क्षेत्र भएकाले कानुनी जटिलताहरूबाट बच्न र राजश्व संकलनमा राज्यलाई पूर्ण सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कर प्रशासन व्यवसायीहरूको समस्या समाधान गर्न सधैं तत्पर रहेको समेत उहाँको भनाइ थियो।
कार्यक्रका अध्यक्ष मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्णबहादुर भाटले व्यवसायीहरू सधैं राज्यलाई कर तिर्न तयार रहेको तर कर प्रशासन तथा अन्तःशुल्कसम्बन्धी करलाई सरकारले सरलीकृत गरिदिनुपर्ने माग राख्नुभयो। उहाँले मदिरा व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि संस्थाले निरन्तरता दिइरहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा मदिरा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द केसी तथा मदिरा व्यवसायी समितिका पूर्वअध्यक्ष एवं महासंघका सल्लाहकार तारानाथ ढुङ्गानाले मदिरा व्यवसाय क्षेत्रले व्यहोर्नुपरेका समसामयिक समस्या, नीतिगत अस्पष्टता र कर प्रणालीका व्यावहारिक चुनौतीहरूका बारेमा आफ्ना धारणाहरू राख्दै व्यवसायीहरूको एकता र व्यवसायको शुद्धीकरणमा जोड दिनुभयो।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत धर्मेन्द्र शाह, सचिव पौडेल र कम्प्युटर अधिकृतसुदिप रेग्मीले चालु अर्थिक वर्षको कर नीति र मदिरा व्यसाय संचाल गर्दा अपनाउनुपर्ने प्रकृयाको वारेमा जानकारी दिनुभएको थियो ।
ऋषि न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा करिब एक सय मदिरा व्यवसायी सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका महासचिव श्रीराम पोखरेल र स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाले गर्नुभएको थियो ।
व्यवसायीहरूले कर र अन्तःशुल्कका विषयमा राखेका जिज्ञासा एवं समस्याहरूको आन्तरिक राजश्व कार्यालयका प्रमुख र अन्य कर्मचारीले सहजिकरण गर्नुभएको थियो।

