निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना नगर्न आयोगकाे आग्रह

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना नगर्न अनुराेध गरेकाे छ ।

आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको पनि निर्वाचन आयोगले जनाएकाे छ ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन  प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएकाे भन्दै आयोगले त्यस्ताे कार्य निर्वाचन आचारसंहिता विपरीत हुने जनाएकाे छ ।

साथै विभिन्न सञ्चार माध्यमहरुबाट समेत यस्ता विषयमा जानकारी भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता, 2082 को दफा 13 को उपदफा (1) को खण्ड (ङ)  मा कुनै राजनीतिक दलउम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुसआमसभाकोणसभाबैठकभेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने र निर्वाचन (कसुर तथा सजाय) ऐन 2073 को दफा 20 को उपदफा (1) को खण्ड (क) मा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा ऐ. ऐनको ऐ. दफाको खण्ड (ख) मा “दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ।

यसर्थ आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको हुँदा निर्वाचनसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने जस्ता कार्य नगर्नका लागि सम्बन्धित सरोकारवाला सबैलाई आयोगले अनुरोध गरेकाे छ ।

Facebook Comments