काठमाडाैंका थापाथली, गैरीगाउँ, सिनामंगल र शान्तिनगरका सुकुम्बासी बस्ती खाली गरियाे
काठमाडाैं महानगरपालिका अन्तर्गत थापाथली, गैरीगाउँ, सिनामंगल र शान्तिनगर क्षेत्रको सुकुम्बासी बस्ती खाली गरिएकाे छ ।
बस्ती खाली गरिएपछि १२३ परिवार महानगरको सम्पर्कमा पुगेकाे बताइएकाे छ । महानगरकाे सम्पर्कमा पुगेकाहरूकाे दशरथ रंगशालामा स्कृनिङ सेन्टर राखेर विवरण संकलन गरिएकाे छ ।
वास्तविक सुकुम्बासीहरूको विवरण संकलन गरेर व्यवस्थापन गर्ने सरकारकाे तयारी छ ।

विवरण संकलनमा खटिएका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाका अनुसार अहिलेसम्म १२३ परिवारको ५६४ जनाको विवरण संकलन भइसकेको छ।
तीमध्ये गैरीगाउँका २२ परिवार, सिनामंगलका ८ र शान्तिनगरका ५ परिवार छन्। बाँकी ८७ घरपरिवार थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकाहरू रहेका छन् ।
किर्तिपुर, नागार्जुन लगायतका स्थानमा वास्तविक सुकुम्वासीहरू लागि राखिने र पछि व्यवस्थित गर्दै जाने सरकारकाे तयारी छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार असिम शाहले शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको बताउनुभएकाे छ ।
उहाँले काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेकाे जानकारी समेत गराउनुभएकाे छ ।
ठमाडौंका विभिन्न होटलहरूमा सुकुम्वासी बस्तीबाट निकालिएका परिवार राखि उनीहरूकाे पहिचानकाे कार्य सुरू गरिनेछ ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने सल्लाहाकार शाहले उल्लेख गर्नुभएकाे छ ।

