सरकारले बाढी प्रभावितकाे जिम्मा लिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्नुभएकाे छ ।

बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भन्नुभएकाे छ, ‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ। प्राकृतिक विपदको यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।’

उनले उद्धार, उपचार, खोजतलास तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभएकाे छ ।

साथै उहाँले उद्धार, स्वास्थ्याेपचार, राहत एवं पुनःस्थापनाका लागि सरकारले सहयाेग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएकाे छ ।

उहाँका अनुसार सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई उद्धारमा परिचालन गरेको, हेलिकप्टरमार्फत नागरिकको उद्धार भइरहेको तथा घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंका अस्पतालमा शय्या छुट्ट्याइएको छ ।

बेपत्ता नागरिकको खोजी, प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तथा बाढीबाट क्षतिग्रस्त सडक, पुल, बिजुली र खानेपानीका संरचनाको पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकता राख्ने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।

विपद यस कठिन घडीमा प्रभावित नागरिक एक्लो नरहेको बताउँदै सम्पूर्ण साधनस्रोतसहित नागरिकहरूको साथमा सरकार रहेकाे उहाँले बताउनुभएकाे छ ।

Facebook Comments