नेकपा दुइ थरी अतिकाे विराेधमा छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पार्नुभएकाे छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले नेकपा एकल रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र पहिलाे शक्ति बन्ने प्रयासमा लागेकाे बताउनुभएकाे हाे । कतिपयले झापा–५ का उम्मेदवार रन्जित तामाङलाई तालमेल हुन लागेको हो कि भन्ने कुराले तनाव भएको र अब त्यस्तो तनाव लिन नपर्ने प्रचण्डको भनाइ थियो ।
‘आज बिहानमात्रै झापा–५ का हाम्रो पार्टीका उम्मेदवार रन्जितसँग फोनमा कुराकानी पनि भएको थियो । भ्रम केही नपाल्नुस्, कुनै सहमति भएको छैन । कुराकानी पनि भएको छैन । यो बाहिर जे मिडियामा कुराकानी आएको छ, यो गलत हो, भ्रामक हो, तपाईं अघि बढ्नुस् भनेर भनिसकेको छु,’ उहाँले भन्नुभयाे ।
साथै, प्रचण्डले कांग्रेस–एमाले भदौ २३ गते अघिका मात्रै सहयात्री कांग्रेस–एमाले भएको बताउनुभयाे ।
संविधानको रक्षा गर्ने, गणतन्त्र, संघीयता, समावेशीतामाथि महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम थारुले पाएका अधिकार खोस्ने खतराकाविरुद्ध हामी सबैसँग सहकार्य गर्ने तर निर्वाचनमा एकल रूपमा जाने स्पष्ट पार्नुभयाे ।
भाद्र २३ गते भएकाे निहत्था नागरिकहरू एवं युवाहरूकाे हत्यामा जिम्मेवार शक्तिसँग अहिले सहयात्रा नहुने प्रचण्डकाे स्पष्टाेक्ति थियाे । त्यसतै भाद्र २४ गते भएकाे विध्वसं गर्नेहरूसँग पनि सहकार्य नहुने उहाँकाे भनाइ थियाे । फागुन २१ काे निर्वाचनमा पहिलाे शक्ति हुने संभावना रहेकाे दाबी गर्दै प्रचण्डले दुवै खालका अतिवाद विरूद्ध लड्ने बताउनुभयाे ।

