सुनसरीमा दुई समूहबीचको विवादः प्रहरीकाे गाेली लागेर १ जनाकाे मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएकाे छ । विवाद थप चर्कन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेकाे छ ।

७ बजेदेखि लागू भएको कर्फ्यू समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर २२ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

सोमबार बिहान कप्तानगंजको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगंजको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

कप्तानगञ्ज स्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो । 

त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद थप चर्किएको बताइन्छ ।  

Facebook Comments