पृथ्वी राजमार्ग सहितका विभिन्न राजमार्गहरू अवरूद्ध
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गहरूका विभिन्न खण्ड अवरुद्ध भएका छन् । कतिपय सडकमा बाढी र पहिराेका कारण अवरूद्ध छन् भने कतिपयमा संभावित जाेखिमका कारण रातकाे समय तथा पानी परेकाे समयमा यातायात सन्चालनमा राेक लगाउने गरिएकाे छ ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यका जोड्ने प्रमुख सडकका साथै कोशी र बागमती प्रदेशका कयौँ सडक खण्डहरूमा पूर्ण वा आंशिक रूपमा यातायात सेवा प्रभावित भएकाे छ ।
काठमाडौँ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिने नागढुंगा-मुग्लिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ । भाेटेकाेशी हुँदै त्रिशुली नदीमा आएकाे बाढीका कारण पृथ्वीराजमार्गकाे धादिङ जिल्लाकाे गल्छी देखि गलाैंदीसम्म सडकमा लेदाे थुप्रिएकाे छ । लेदाे हटाउन विहीबार दिउँसाे सम्म लाग्ने अनुमान सडक विभागले गरेकाे छ।
भाद्र १० गते बिहान १०:०० बजेदेखि नै यो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो।
बागमती प्रदेशमा धेरैजसो राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा साँझ १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थितिको विचार गरेर मात्र सवारी चल्न दिइनेछ।
कान्ति लोकपथकाे हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा रातको समयमा (साँझ १७:०० देखि बिहान ०५:०० सम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्डको उत्तरगया-५, खाल्टेमा आएको बाढीका कारण यो बाटो लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ।
नुवाकोट जाने टोखा-छहरे सडक खण्डमा रातको समयमासवारी चलाउन रोक लगाइएको छ। साथै, जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, झापादेखि ताप्लेजुङ जाने यात्रुहरूका लागि वैकल्पिक बाटो उपलब्ध रहेको प्रहरीले जनाएको छ।



