प्रतिनिधिसभाको बैठक आज बस्ने

लामाे समयदेखि स्थगित हुँदै आएकाे सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। 

बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरू पार्टीकाे महाधिवेशनमा व्यस्त रहेकाले संसद बैठक पनि सूचना टाँस गरी पटक पटक स्थगित गरिएकाे थियाे ।

बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको २०८३ सालको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

त्यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सभामा प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ।

बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णय गरिनेछ। साथै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिका संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पेस गर्ने कार्यसूची छ।

यसका अतिरिक्त, प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

Facebook Comments