पृथ्वी राजमार्ग सहितका मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

देशभर भइरहेको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्गका सडक खण्डहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेकाे पछिल्लो विवरण अनुसार उपत्यका छिर्ने मुख्य नाकादेखि पहाडी जिल्ला जोड्ने सडकहरूमा यातायात सेवा प्रभावित भएको छ।

काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ । साे सडक खण्डकाे धादिङकाे बैरेनीदेखि गलाैदींसम्मकाे क्षेत्रमा भाेटेकाेशी बाढीले लेदाे थुपारेकाले यातायात सेवा प्रभावित बनेकाे हाे ।

लेदाे हटाएर सवारी सन्चालनमा ल्याउने प्रयास भइरहेकाे सडक विभागले जनाएकाे छ ।

पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ ।

भाेटेकाेशी बाढीले गर्दा नुवाकाेट, रसुवा, धादिङ जिल्लाका विभिन्न पुल तथा सडकखण्डहरूमा क्षति पुगेकाले ति जिल्लामा सवारी सन्चालनमा प्रभाव परेकाे छ ।

त्यस्तै इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गत राजदुवाली (झापा–ताप्लेजुङ सडक) क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका मुख्य राजमार्गहरूमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गकाे खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्ड, कान्तिलोकपथकाे हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक खण्डमा, टोखा–छहरे खण्डको घट्टेपुल क्षेत्रमा रातकाे समयमा सवारी साधन चलाउन निषेध गरिएको छ।

रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेकामा भाेटेकाेशी बाढीका कारण थप क्षति पुगेकाले लामो समयसम्म रहने देखिएको छ। साथै रसुवाका अन्य मुख्य राजमार्गहरू पनि साउन १० गतेदेखि नै बन्द अवस्थामा छन्।

Facebook Comments