भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, १ हजार ५४५ को उद्धार
८४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज
नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ । काठमाडाैंका विभिन्न अस्पतालमा रहेका घाइतेमध्ये ८४ जना भने उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीका अनुसार आज बिहान ७ बजेसम्म रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ वटा शव फेला परेका छन् । भेटिएका शवहरू नजिकका अस्पतालहरूमा राखिएका छन् ।
बाढी तथा विपद्मा परी १ हजार ५४५ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन्।
यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । उद्धार कार्य जारी रहेकाे छ ।


