ओली र लेखकलाई५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।
चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो ।
उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा हेलचेक्र्याइ गरेकाे र जिम्मेवारी बहन नगरेकाे आराेप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ ।
सरकारले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन प्रहरीमा पठाइएको हो ।
सो प्रतिवेदनको आधारमा प्रहरीले ओली र लेखकमाथि अनुसन्धान गरिरहेको छ ।
केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने सरकारकाे निर्णय छ ।
केन्द्रीय सुरक्षा समितिमा प्रहरीका आईजीपी, सशस्त्र प्रहरीका महानिरीक्षक, गृह मन्त्रालयका सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो ।

