आवेदन दिएको दिन श्रम स्वीकृति
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति आवेदन दिएको दिनमै गर्ने भएकाे छ ।
सरकारकाे शासकीय सुधार कार्यक्रम अन्तर्गत हाल रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे हाे ।

यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गरिने भएको छ ।
अभिमुखीकरण तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने जनाइएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्न अभियान सञ्चालन गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गरिने, सामाजिक सुरक्षा काेषमा आवद्धता बढाउने लगायतका कार्य अगाडी बढाउने मन्त्रालयले जनाएको छ ।

