पाँच जिल्लाका मुख्य राजमार्गका विभिन्न सडकखण्डमा अवराेध

इलाम, काभ्रे, नुवाकाेट, रसुवा, धादिङ लगायतका जिल्लामा सडक यातायात अवरूद्ध बनेकाे छ। अविरल वर्षा, बाढी पहिराे र संभावित जाेखिमका कारण यातायात सेवा सन्चालन प्रभावित बनेकाे प्रहरीले जनाएकाे छ ।

नेपाल प्रहरीका अनुसार केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ।

सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै बीपी राजमार्गमा विशेष सावधानी अपनाइएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड, कान्ति लोकपथको हेटौँडा–ठिंगन–ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै टोखा-छहरे सडकको शिवपुरी–८, घट्टेखोलामा जोखिम बढेकाले रातिकाे समयमा सवारी साधन चलाउन रोक लगाइएको छ।

मेची राजमार्गकाे इलाम नगरपालिका-९, राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

रसुवाकाे उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ र यो लामो समयसम्म रहने देखिएको छ। रसुवाका मुख्य राजमार्गहरू साउन १० गतेदेखि नै बाढीका कारण प्रभावित रहेका छन्।

Facebook Comments