लेखनाथ महोत्सव सम्पन्न, ६ करोड ४५ लाखको कारोवार

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिनुभयाे ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयाे । उहाँले व्यापारिक मेलाले क्रेता र विक्रेताका विच बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयाे ।

गण्डकी क्षेत्रमा लेखनाथ उद्योग बाणिज्य संघले बर्षेनी आयोजना गर्ने मेला नेपालकै उत्कृष्ट महोत्सव बन्ने गरेको उल्लेख गर्दै, मन्त्री शर्माले एकता र सहकार्यमा सफलताको बल हुने स्पष्ट पार्नुभयाे।

मन्त्री शर्माले गण्डकी प्रदेश सरकारले पोखरामा बैकल्पीक औद्योगिक क्षेत्रका रुपमा पूणीटारमा संभाव्यता अध्ययन गरी कार्य अगाडी बढाएको उल्लेख गर्नुभयाे । पोखराको वीच भागमा रहेको औद्योगिक क्षेत्रलाई विस्थापन गरी पूँणीटारमा सार्ने गरी काम भैरहेको समेत मन्त्री शर्माले बताउनुभयाे ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीक सुरक्षाका लागि स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिद्धता गर्नुभयाे । प्रमुख जिल्ला अधिकारी आचार्यले विषम परिस्थितिमा आयोजना गरिएको महोत्सवले शिथिल भएको स्थानीय अर्थतन्त्रलाई चलायमान गराएको बताउनुभयाे ।

नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संञ्जीव बहादुर कोइरालाले मेला महोत्सवले सरकारले आयोजना गर्नु पर्नेमा जोड दिनुभयाे ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव उपेन्द्र सुवेदीले संचालन गर्नुभएकाे थियाे ।

साे अवसरमा महोत्सवकाे दाैरान विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । महोत्सव फागुन २६ देखी चैत्र सात गतेसम्म संचालन भएको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिका थिए ।
महोत्सवमा फेन्सी, गार्मेन्ट, भाडा, रेष्टुरेण्ट र बालउद्यान तर्फ उत्कुष्ट कारोबार भएको आयोजकले जनाएका छन् ।
संघले आगामी बर्षका लागि समेत महोत्सवका मिति घोषणा गरेको छ । २०७९ सालका लागि पौष ७ देखी १८ गतेसम्मका लागि महोत्सव गर्ने गरी मिति घोषणा गरेको हो । प्रतिकुल मौसम हुँदा हुँदै छोटो समयको तयारीमा आयोजना गरिएको महोत्सव सोचेभन्दा बढी सफल भएको आयोजकले दावी गरेका छन् ।

Facebook Comments