राष्ट्रिय हेमजा आलु महोत्सव जारी
११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आउदाँ दर्शक सहभागिता बढिरहेकाे छ । शुक्रवार नयाँवर्षको दिन करिव दश हजारले महोत्सव अवलोकन गरेका आयाेजकले जनाएकाे छ ।
अधिकाशं अवलोकन कर्ता महोत्सव स्थलमा रहेका खाजा स्टलमा आलु परिकारका स्वादमा रमाइरहेका भेटिन्छन्। महाेत्सवमा आलुको मम, आलु चप, आलु स्टीम, आलु ससेस, आलु दम, आलुको अचार, आलु पकौडा लगायतका गरी २० परिकारको स्वाद लिन सकिन्छ । त्यस्तै महाेत्सवमा कृषिजन्य उत्पादनकाे परामर्शका लागि स्टल राखिएका छन् भने स्थानीय कृषिजन्य उत्पादनहरू समे बिक्रीमा राखिएकाे छ ।
‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव प्रवद्र्धन गर्ने उद्देश्यले आफनो स्टलमा आलुका परिकारमात्रै तयार गर्ने गरीएको वर्ड टाउन वेस्टोका संचालक जीतेन्द्रजंग थापाले जानकारी दिनुभयाे । महोत्सव स्थलमा करिव ३० वटा खाजाका स्टलहरु छन् । जसमध्ये अधिकाशंले आलुका परिकारलाई प्राथमिकताका साथ बनाउने गर्दछन्।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्। महोत्सव यहि बैशाख ३ गतेसम्म चल्नेछ ।

