राष्ट्रिय सभामा अध्यक्ष पदका निर्वाचन हुँदै
राष्ट्रिय सभामा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउँदैछ ।
अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी नेपाली कांग्रेसका सांसद युवराज शर्माकाे उम्मेदवारी दर्ता भएकाे छ ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।
त्यस्तै कांग्रेस सांसद शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्।
राष्ट्रिय सभामा सत्ता गठबन्धनमा १८ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ भने एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।
कांग्रेस उम्मेदवार शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्।

