नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी ठोक्किए, एक जनाको मृत्यु
नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २३ जना घाइते भएका छन् । ५ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा दुर्घटना भएकाे थियाे ।
साे दुर्घटनामा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका थिए ।
अन्दाजी १६/१७ वर्षका किशोरकाे उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। मृतक किशोरको परिचय खुलिनसकेको प्रहरीले जनाएकाे छ ।
घाइते २३ जनामध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
ट्रकका चालक सिन्धुपाल्चाेक भोटेकोशी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएकाे छ । साे सडकखण्डमा राती केहीबेर अवरूद्ध भएपनि अहिले भने सञ्चालनमा आएको चितवन प्रहरीले जनाएकाे छ ।

