आज गणतन्त्र दिवस देशभर मनाइँदै
आज जेठ १५, नेपाल संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा परिवर्तन भएकाे दिन । यस दिनका अवसरमा मुलुकभर गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिकाे राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालाे गराैं’ भन्ने नारा सहित देशैभर याे दिवस मनाउन लागिएकाे हाे ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा गरिएकाे थियाे ।
साेही दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।
वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि तत्काल शान्तिपूर्ण आन्दोलनरत सात दल र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
वि.सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका जगमा आन्दोलन चर्किएपछि २०६३ बैशाखमा राजाले संसद पुनर्स्थापना गर्नुपरेकाे थियाे ।
वि.सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरी तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
वि.सं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट गठित संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेकाे हाे ।

