एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाइने, शुक्रबार शिलान्यास
नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने भएकाे छ ।
हाल ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि कार्यालय सञ्चालनमा बाधा पुगेकाे थियाे ।
यसअघि २०७२ सालकाे भुकम्पका कारणा बल्खुमा रहेकाे एमालेकाे केन्द्रीय कार्यालयमा क्षति पुगेकाे थियाे । उपयुक्त स्थानमा केन्द्रीय कार्यालय बनाउन खाेजेकाे एमालेले अन्ततः कीर्तिपुरमा केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको हो ।
विहीबार दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिनुभयाे ।
उहाँका अनुसार नयाँ कार्यालय भवन मदन भण्डारीको स्मृतिमा बनाइने छ ।
नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनर्स्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।
यसैगरी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन पनि एमालेले भनेको छ ।

