खबरचासाेकर्मी सहितकाे टाेलीद्वारा मर्दी हिमालकाे सफल आरोहण
खबरचासाेका सहकर्मी अर्जुन बि.क. सहित पर्वतारोहीहरूकाे टाेलीले ५,५८७ मिटर अग्लो मर्दी हिमाल सफलतापूर्वक आरोहण गरेर फिर्ता भएकाे छ । टाेलीले चुचुराेमा खबरचासाे डट कमकाे ब्यानर समेत फहराएकाे छ ।
माछापुच्छ्रे गाउँपालिकामा हिमालकाे सफल आरोहण गरेर फिर्ता भएका पर्वतारोहीहरूलाई शनिबार विशेष सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ।
सफल आरोहीहरू नारायण गुरुङ, क्षेत्र बहादुर गुरुङ, अर्जुन बि.क., सुदीप तामाङ, मनमोहन गुरुङ, एलिसा मगर, राम परियार र नवीन गुरुङ लगायतले यही २०८३ साल साउन २३ गते (८ अगस्ट २०२६) हिमालकाे सफल आरोहण गरेका हुन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. १ कार्यालयले साेही पालिकाकाे वडा नं. १ टुसेमा आयोजना गरेकाे कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हाे ।
“पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधार समृद्ध माछापुच्छ्रे निर्माणको जग हो” भन्ने अवधारणासहित आरोहण गरिएकाे थियाे

कार्यक्रमका अवसरमा अन्नपूर्ण गंगाजल प्रा.लि. का सञ्चालक देवेन्द्र राज सुवेदी र विश्व सुवेदीले आरोहीहरूलाई ढाका टोपी लगाएर सम्मान गर्नुभएको थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इन्द्र गुरुङले यस क्षेत्रमा पर्यटन र सामुदायिक गौरव बढाउने प्रयासहरूको एक भागका रूपमा सफल पर्वतारोहणलाई लिने बताउनुभयाे । उहाँले युवा सशक्तीकरण र सम्भावनाको सदुपयोग आजको आवश्यकता भएको अभियानसँग जोडेर कार्यक्रमलाई महत्वपूर्ण बताउनुभयो।
मर्दी हिमाल कास्की जिल्लाको अन्नपूर्ण पर्वत शृङ्खलामा अवस्थित लोकप्रिय पदयात्रा तथा आरोहण चुचुरो हो । यसबाट माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिउचुली लगायतका चुचुराहरूको शानदार दृश्य देखिन्छ।
यस क्षेत्रका स्थानीय पर्वतारोही तथा पर्यटन प्रवर्द्धकहरूले यस चुचुरो र वरपरका पदमार्गहरूको प्रवर्द्धन गर्न पहिले पनि यस्तै शिखर प्रयासहरू गरिसकेका छन्।
६००० मीटर माथीका चुचुरोहरु आरोहण गर्न पुर्बी तयारी र अभियास लागि उपयुक्त हिमाल रहेको साे अवसरमा बताइएकाे थियाे ।
कार्यक्रमले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन, युवा सशक्तीकरण र सामुदायिक गौरव बढाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

