नवरात्रकाे दाेस्राे दिनः ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक्ल द्वितीया) आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ । शास्त्रमा ‘ब्रह्म’को अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।

ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।

पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउन ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भई उनले देवर्षि नारदको उपदेशअनुसार महादेव स्वामी पाऊँ भनी कठिन तपस्या गरेकी हुन् । कठोर तपस्या गरेकै कारण उनको नाम ‘तपस्याचारिणी’ अर्थात् ‘ब्रह्मचारिणी’ रहन गएको हो । चार हजार बर्षसम्म कठाेर तपस्या गरेकाे र पितामह ब्रह्माले प्रसन्न हुँदै कसैले गर्न नसकेको तपस्या पूरा भएको र छिट्टै महादेवलाई पतिको रूपमा पाउने वरदान दिएका भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

तप, त्याग, वैराग्य, सदाचार, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ । ज्योतिषी दुर्गा भण्डारीका अनुसार यो साधना विद्यार्थी, साधक र योगीहरूका लागि विशेष फलदायी मानिन्छ । ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख प्राप्त हुने शास्त्रीय विश्वास छ ।

ब्रह्मचारिणीलाई सबै प्रकारका पूजा सामग्री, फलफूल, पकवान्न तथा पुष्पहरू प्रिय छन्। आजका दिन देवीलाई सख्खर चढाएर पूजाआराधना तथा दान गरेमा हरेक प्रकारको बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक मान्यता छ ।

देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षता, अबिर, चन्दनका साथै दूध, दही, सख्खर, घिउ वा मह (पञ्चामृत) ले स्नान गराई प्रसाद चढाउने विधान छ । त्यसपछि आचमन गराई पान, सुपारी, भेटी चढाएर प्रदक्षिणा गरिन्छ। कलश स्थापना गरी नवग्रह, दशदिक्पाल, नगर देवता र ग्राम देवताको पूजार्पछि देवीको हातमा फूल लिएर स्तुति गरिन्छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । 

Facebook Comments