पश्चिम नेपालमा अविरल वर्षा, सयाैं घर डुवानमा
थन्क्याउने बेलाकाे धानबालीमा क्षति हुँदा कृषक चिन्तित
लगातारको वर्षाका कारण पश्चिममा जनजीवन प्रभावित बनेकाे छ भने महाकाली र जोगबुढा नदी तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । महाकाली तथा जाेगबुढा नदीमा वर्षाका कारण भीषण बाढी आएकाे हाे ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
महाकाली नदी र जोगबुढा नदीमा ०७० सालयताकै ठूलो बाढी आएकाे बताइन्छ । जसले गर्दा तटीय क्षेत्रका सयौं घरपरिवार प्रभावित भएक छन् ।
आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको हाे ।
मानवीय क्षति नभएपनि दाङ, अर्घाखाँची, बाँके बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाहरूमा धानबालीमा क्षति पुगेकाे छ। थन्क्याउने बेलाकाे धान बालीमा क्षति पुगेकाले कृषकहरू चिन्तित बनेका छन् ।

