नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियाेगिता सम्पन्न, पदकमा विभागीय टिमकाे वर्चस्व

नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियाेगिता २०७९ सम्पन्न भएकाे छ । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नारा सहित सम्पन्न प्रतियाेगिताकाे पदक तालिकामा भने विभागीय टिमकाे वर्चस्व रहन पुगेकेा छ ।

समापन समाराेहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएकाे थियाे ।

पर्यटकीय नगरी पाेखरा र गण्डकीका विभिन्न जिल्लामा गरी सम्पन्न भएकाे प्रतियाेगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेकाे छ ।

२८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिल्लामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण, १०९ रजत र ८९ कांस्य गरी कूल ३७१ पदक जित्दै च्याम्पियन बनेकाे हाे। 

६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १९५ पदक जित्दै अर्काे विभागीय टाेली एपीएफ दाेस्राे बन्याे । प्रतियोगिताको अन्तिम स्पर्धाको रुपमा रहेको पुरुष फुटबलको स्वर्ण पदक समेत एपीएफले जितेकाे थियाे ।

त्यस्तै नेपाल पुलिस क्लबले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्यसहित कूल १२० पदक जितेर तेस्रो भएकाे छ । चाैंथाेमा भने आयोजक गण्डकी रह्यो । ३२ स्वर्ण ३१ रजत र ५७ कांस्यसहित १२० पदक जितेर गण्डकी चौथो भएकाे हाे ।

बागमती २४ स्वर्ण ४७ रजत र ७४ कांस्यसहित १४५ पदक जितेर बागमती प्रदेश पाँचौ, प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्यसहित ८३ पदक जितेर छैटौं भयो ।

सुदूरपश्चिम प्रदेश १० स्वर्ण १० रजत र ४३ कांस्यसहित ६३ पदक जितेर सातौं तथा एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कांस्यसहित २६ स्वर्ण जितेर आठौं भयो ।

लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेर नवौं भयो भने मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक जितेर दशौं भयो । अन्तिम स्थानमा रहेको र दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदक  मात्र जितेकाे छ ।

तस्वीर साैजन्यः सुदर्शन रन्जित

Facebook Comments