क्रिक्रेट लिग-२ को शृंखलाः नेपालद्वारा क्लिन स्विप

नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको छ । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्दै अविस्मरणीय सफलता प्राप्त गरेकाे हाे ।

रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय विजय दिलाउन भूमिका खेलेका हुन् ।

सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाएका थिए । उनले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

नेपालको सुरुवात राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहितले एउटा छेउमा टिकिरहे पनि अर्को छेउबाट निरन्तर विकेट झरिरह्यो ।

कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेली १ चौका प्रहार गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए । स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएकाे थियाे ।

स्कटल्यान्ड यस शृंखलाको पहिलो खेलमा नामिबियामाथि विजय हात पारी लिग-२ को विजेता बनिसकेको थियो । टोलीले सबै ३६ खेलमा ५० अंक जोड्यो । नेपालले २८ खेलमा २६ अंक जोडेको छ ।

Facebook Comments