बडादशैंः घरघरमा फुलपाती भित्राइँदै

बडा दशैंको सातौं दिन आज फुलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा फुलपाती भित्राउने प्रचलन छ ।

उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष फुलपातीका रूपमा भित्राउने गरिन्छ । यसरी भित्र्याइने फुलपाती घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा राख्ने गरिन्छ ।

फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

फुलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा दरबारबाट पठाइएकाे फूलपाती भित्राउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फुलपाती भित्राउने गरिन्छ ।

फुलपातीका अवसरमा देशका बिभिन्न स्थानमा रहेका काेटहरूमा पनि पुजा आराधना गर्ने प्रचलन छ ।

Facebook Comments