बडादशैंः महाअष्टमी पर्व भव्य रूपमा मनाइँदै
हिन्दुहरूकाे महान पर्व बडादशैं अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज मनाइँदैछ । आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष उपसाना, पूजाआराधना गरिन्छ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ।
आजको दिन शास्त्रसम्मतरूपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिएकाे छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास रहेकाे छ ।
सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको बताइन्छ। सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा रहेको र सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा तथा राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भन्ने गरिन्छ ।
आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ।
आजका दिन गाेरखा जिल्लाकाे कालिका, मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरूमा बली सहित पुजा गर्ने चलन छ ।
त्यस्तै उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बंगलामुखीलगायत मन्दिरहरूमा पनि बलिसहित पूजाआजा गर्न भक्तजनहरूकाे बाक्लाे उपस्थिति रहने गर्दछ ।
महाअष्टमीका दिन राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण केही वर्ष भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो।

