पेट्रोलियम पदार्थको मुल्य घट्याे

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो। 

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य ताेकिएकाे निगमले जनाएकाे छ ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ।

Facebook Comments