वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकाे ठहर
नेपाल वायुसेवा निगमका लागि खरिद गरिएका वाइडबडी जहाजमा भ्रष्टाचार भएकाे ठहर भएकाे छ । विशेष अदालतले १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हाे ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार भएकाे ठहर सहित मुद्दाकाे फैसला गरेकाे हाे ।
जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जना र विदेशी कम्पनीका प्रतिनिधिहरूलाई सजाय तोकेको छ ।
फैसलाअनुसार निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार तथा सञ्चालक समिति सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी देखिएका छन् ।
जहाज आपूर्तिकर्ता विदेशी प्रतिनिधिहरूमा एएआर इन्टरनेसनल इन्कका दिपक शर्मा, जर्मन एभिएसन क्यापिटलका ओलेग कालिस्ट्रु, एएआर इन्टरनेसनल इन्कका मुख्य व्यक्ति जोन एम होल्मस, एभिएसन क्यापिटलका प्रबन्ध निर्देशक अना टोपा, हाई फ्लाई एक्सका पाउलो मोरपुरी, गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन रहेका छन्। उनीहरूलाई १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित गत चैत २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले अभियोग लगाएकामध्ये २१ जनाले भने सफाइ पाएका छन् ।
भ्रष्टाचार ठहर भएको रकम कसुरदारबाट दामासाहीले असुलउपर फैसलामा उल्लेख छ ।

