सिरियाका राष्ट्रपति असद रूसको शरणमा
विद्रोहीहरू राजधानी दमस्कस कब्जाका लागि प्रवेश गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद रूसको शरणमा पुगेकाे बताइएकाे छ । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।
मानवीयताका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको रूसी राष्ट्रपति कार्यलयले स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले समाचारमा उल्लेख गरेका छन् ।
बिबिसीले असद शासनकाे पतनका पछि मस्काेले समेत झट्का बेहाेरेकाे उल्लेख गरेकाे छ ।

विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेकाे बताइएकाे छ ।
असद परिवारकाे वंश शासनका क्रममा बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा नेतृत्वमा रहेपनि पछिल्लाे पटक विद्राेहीकाे प्रहारले सत्ता छाड्न बाध्य बनेकाे समाचारहरूमा उल्लेख छ ।
सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

