मौसम: सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। 

मध्य र पूर्वी तराइका धेरै भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा  गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । साेमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार भने कोशी प्रदेशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार पनि कोशी प्रदेशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

Facebook Comments