प्रचण्ड र बाबुराम एउटै मञ्चमाः जनयुद्ध आधुनिक नेपालकाे ठूलाे परिघटना भएकाे दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लामाे समयपछि एउटै मञ्चमा देखा पर्नुभएकाे छ ।

पछिल्लाे समय दुइ नेतावीच सम्बन्ध सहज नभएता पनि विहीबार भने एउटै मञ्चबाट सम्बोधन गर्दै दुवै नेताले  जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताउनुभयाे ।

भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले यस्ता धारणा राख्नुभएकाे हाे ।

कतिपय शक्तिहरुले लाखौं जनताको सहभागीता भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयाे ।

‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’, उहाँले प्रश्न गर्नुभयाे, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्याैं ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’

त्यस्तै नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै त्यसक्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताउनुभयाे ।

‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो,’ उहाँले भन्नुभयाे,  ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’

Facebook Comments