राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै
राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । मंगलबार वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गर्नुभएकाे थियाे ।
राष्ट्रपति पौडेल बिहान १०ः ४५ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले राष्ट्रपतिको यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूणर् सन्देश प्रवाह गरेको बताउनुभयाे । लामो समयपछि यूरोपका प्रभावशाली मुलुकका राष्ट्र प्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा चालिसेले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा नेपालको ऐक्यवद्धता प्रदर्शित भएको बताउनुभयाे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण अन्यन्त सफल तथा फलदायी उल्लेख गर्नुभयाे । साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित एवम विस्तार गराउन महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरसँग भेटवार्ता गर्नुभएकाे थियाे थिए भने दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूणर् निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएकाे हेा ।
वर्लिन जानुअघि राष्ट्रपति पौडेलले स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई सम्बोधन गर्नुभएकाे थियाे ।

