फाेहाेर गरेकाे भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिवाना ताेकिएकाे पत्र, एमाले भन्छ स्टण्डबाजी हाे
काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने गरी पत्र काटेकाे छ ।
शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले ने.कपा.एमालेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएकाे छ ।
महानगरकाे यस्ताे पत्र सार्वजनिक भएपछि नेकपा एमालेका महासचिव शंकर पाेखरेलले मेयर बालेन शाहले स्टण्डबाजीका लागि जरिवाना तोक्न लगाएकाे टिप्पणी गर्नुभएकाे छ । महासचिव पाेखरेलले मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो भनेर उल्लेख गर्नुभएकाे छ ।
शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी समेत गर्नुभएकाे छ ।
पाेखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेख्नुभउकाे छ ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ ।’

