संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ ।
जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफललाई आजको बैठकमा अघि बढाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजका लागि डाकिएको दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर त्यसलाई पारित गर्ने कार्यसूची छ ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले बनाएको छ ।
यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण पेश गर्ने र बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत ब्यापार विद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूचीमा राखिएको छ ।
साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने कार्यसूची छ।
यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस” भन्ने सूचना प्रस्तुत गरेपछि उद्योगमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश स्वीकृत गरियोस” भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुनेछ ।
दिउँसो बस्ने राष्ट्रिय सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसद्को दुवै सदनमा गरेको संयुक्त बैठक सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१÷०८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रचण्डले नै सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएपछि अध्यक्षले आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।

