सामाजिक सुरक्षाको अवधारणालाई पूर्णता दिन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

गलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताउनुभएको हो ।

‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनताप्रति निष्ठा र प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

उहाँले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी समेत गर्नुभएको छ ।

Facebook Comments