सरकारको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट आइतबार पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेसले वेलमा नाराबाजी गरिरहेपनि दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएकाे छ ।

सत्तापक्षले प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दललाई पेलेरै नीति तथा कार्यक्रम पारित गराएका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षीकेा नारावाजी र विराेधकावीच निर्णयार्थ प्रस्तुत गरी पारित भएकाे घाेषणा गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा १ घण्टा छलफलका लागि तोकिएको थियो । नीति तथा कार्यक्रममाथि नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले मात्रै संशोधन दर्ता गराउनुभएकाे थियाे । नेपाली कांग्रेस लगायतका दलले नीति तथा कार्यक्रममाथिकाे छलफल लगायतका संसदकाे कार्यसूचीमा भाग लिएनन ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले उपाध्यक्ष तथा सांसद विष्णु पौडेल, पूर्वअर्थमन्त्री तथा माओवादी सांसद जनार्दन शर्माले लगायतले नीति तथा कार्यक्रम उत्तम भएकाे र समाजवादको आधार भएको दाबी गर्नुभयाे ।

पूर्वअर्थमन्त्री तथा माओवादी सांसद शर्माले नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रका सुधार, पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार सिर्जना, सुशासन प्रवर्द्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रणजस्ता कुरालाई अगाडि सारेको बताउनुभयाे ।

रास्वपाका स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा आधारित भएर अर्थतन्त्र सुधार गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभयाे ।

Facebook Comments