विपद्मा संयमित र एकताबद्ध भई उद्धारमा जुट्न कार्यवाहक प्रधानमन्त्रीको आग्रह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गर्नुभएकाे छ ।

शनिबार विहान कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो आग्रह गर्नुभएकाे हाे  । सरकारले विपद्को बेलामा नागरिकको धनजनको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।

केही जिल्लामा मानवीय क्षति भएको सडक, पुलपुलेसा पनि भत्किएको भन्दै प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको सिंहको भनाई छ ।

उनले भने, ‘यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी छ । गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको छ ।’

यो विषम परिस्थितिमा  सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन पनि उहाँकाे आग्रह छ  ।

उहाँले भन्नुभएकाे छ, ‘मौसमविद्हरूका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिनका लागि अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सबैमा अनुरोध गर्दछु ।’

Facebook Comments