प्राप्त ज्ञान मुलुकको समृद्धिमा प्रयाेग गर्न दिक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएकाे छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गर्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गर्नुभयाे ।
‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।’, प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिनुभयाे । साथै प्रधानमन्त्री ओलीले दीक्षित हुने विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गर्नुभयाे ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयाे । विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरु एकापसमा गाभ्ने नीति लिइएको जानकारी दिनुभयाे ।

