माैसमः ताताे हावाकाे लहर चल्न सक्ने, सतर्क रहन आग्रह

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई भू-भागका केही स्थानहरूमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएकाे छ ।

महाशाखाका अनुसार आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने हुन्छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने छ ।

सतर्कताका उपायहरूः

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने हुन्छ ।

Facebook Comments