‘पोखरा भ्रमण वर्ष २०२५’ काे तयारी तीव्र

पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष २०२५’ काे तयारी तीव्र पारेकाे छ । तयारी पुरा गरी आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने पोखरा महानगरपालिकाकाे तयारी छ ।

पोखरालाई गत वर्ष चैत्र ४ गते नेपालको पर्यटन राजधानी घोषणा गरिएको थियो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्ष घोषणाको लागि विभिन्न समिति र उपसमिति बनाएर तयारी तीव्र पारिएको जानकारी दिनुभयाे ।

हामीले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाका लागि एक हजार ५० सदस्यीय मूल समारोह समिति, तिन वटा समिति र ४३ वटा उपसमिति बनाएर तयारीलाई तीव्र पारेका छौ,’ मेयर आचार्यले भन्नुभयाे, ‘मूल समारोह समितिको बैठक बसेर छलफल गरेका छौ, फागुन २९ गते पत्रकार सम्मेलन गरेर समिति र उपसमिति सार्वजनिक गर्ने छौँ ।’

कार्यपालिका सदस्यहरूको संयोजकत्वमा उपसमितिहरू निर्माण भएको उहाँले जानकारी दिनुभयाे । मूल आयोजक समिति र निर्देशक समिति मेयारकाे संयोजकत्वमा र कार्यसम्पादन समिति पर्यटन क्षेत्रका व्यक्तिको संयोजकत्वमा बनाइएको छ ।

‘हामी सबैको साथ र समर्थनमा ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्दै यसलाई सफल पार्न लागिपरेका छौ,’ मेयर आचार्यले भन्नुभयाे, ‘नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका विशिष्ट व्यक्ति पोखरा महानगर र महानगर बासीहरूको उल्लासपूर्ण उपस्थितिमा पोखरा भ्रमण वर्ष घोषणा हुनेछ ।’

सरकार, सामाजिक संघ संस्था तथा व्यक्तित्व र निजी क्षेत्रको सहकार्यमा भ्रमण वर्ष सफल हुने र भ्रमण वर्ष भर आन्तरिक तथा बाह्य पर्यटक गरी २० लाख पर्यटक पोखरा भित्रिने मेयर आचार्यले दाबी गर्नुभयाे ।

आचार्यले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू पोखरामा आयोजना गरिने बताउँदै पोखरेलीहरू सहभागी हुने सबै केन्द्रीय स्तरका कार्यक्रमहरू समेत पोखरामा आयोजना गरिएको खण्डमा भ्रमण वर्षलाई थप मद्दत पुग्ने बताउनुभयाे ।

Facebook Comments