आधारभूत तह अन्तिम परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको बैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।
नतिजामा कसैलाई ग्रेस मार्क दिइएको छैन । विषयगत नो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने समितिले निर्णय गरेको छ ।
प्राप्त नतिजाका विषयमा जानकारी लिएपछि प्रवक्ता मानन्धरले, परीक्षाफलले विद्यालयहरुको वास्तविक अवस्था दर्शाएको उल्लेख गर्नुभयाे ।
आयोगका सदस्य झाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षलाई थप जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयाे । महानगरपालिकाको शिक्षा विभागले पनि अझ काम गर्नु पर्ने नतिजाले जनाएकाे छ ।
आफूले प्राप्त गरेको अङ्क चित्त नबुझेर पुनर्योग गर्न चाहेमा विद्यार्थीले बैशाख ४ गतेसम्ममा विद्यालयमा आवेदन दिन सक्नेछन् । विद्यालयहरुले बैशाख ५ गतेभित्र शिक्षा विभागमा पेश गर्नुपर्नेछ ।

