बिद्युत प्राधिकरणले समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भयोः मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल बिद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएकाे छ ।

आज दिउँसो बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षका लागि त्यहाँ पुगेका मन्त्री यादवले बताउनुभएकाे हाे ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले भन्नुभयाे, ‘विद्युत प्राधिकरणले सधै हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।’

यसैगरी मन्त्री यादवले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा कहाँ कहाँ खानेपानीका पाइपहरु छन सो विषयमा प्राधिरणले आफुहरुसँग सल्लाह अनि समन्वय गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ ।

मन्त्री यादवले पानी बन्द हुनासाथ फुटेको पाइपलाईन तत्काल मर्मत गर्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयाे ।

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टिकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सूचारु गरिने जानकारी दिनुभयाे ।

पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेको थियाे ।

Facebook Comments