कुलमान बर्खास्ती प्रकरणः तत्काल निर्णय फिर्ता लिन विपक्षी दलकाे माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेकाे छ ।
का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताउँदै फिर्ता लिन माग गर्नुभएकाे हाे ।
प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ विज्ञप्तिमा थप भनिएको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’
प्रवक्ता सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारमा सत्यता नरहेकाे भन्दै त्यस्ताे प्रचारलाई पार्टीले खारेज गर्ने बताउनुभएकाे छ ।
कुलमानलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको छः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको बताएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै रास्वाले दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको जनाएको छ ।
‘दह्रो र गहिरा सुधार होइन नीहित स्वार्थ समूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी, दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई–तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको पनि जनाएको छ ।
विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष रहेको छ ।
भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने रास्वपाले जानकारी दिएको छ ।

