महाकुम्भ मेलामा भागदाैड हुँदा १४ जनाकाे मृत्यु
महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ। ५० भन्दा बढी घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूबारे औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।
भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ।
होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए। यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो।
दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन्। संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। महाकुम्भ मेलामा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ ।

