समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा श्रृंखलाबद्ध आक्रमण, आपूर्ति र व्यापार सुरक्षा गम्भीर
विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इजरायल-अमेरिका र इरानवीचकाे युद्धका कारण तनाव बढेकाे छ ।
इरानले साे मार्गबाट इन्धन ढुवानी गरेमा आक्रमण गर्ने बताइसकेकाे छ । बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसानामा भारतको गुजराततर्फ आउँदै गरेको जहाज परेकाे छ ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।
यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो ।
समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।
यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।
होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।

अन्य देशहरुले जस्तै भारतले पनि आफ्नो आवश्यकताको ठुलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही स्ट्रेट अफ होर्मुजको बाटो हुँदै आयात गर्दछ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको हमलाको बदलामा इरानले पनि अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी राखेको छ । इरानले तेल आपूर्तिको बाटो बन्द गर्ने चेतावनी दिएपछि होर्मुज स्ट्रेटमा पनि आक्रमण तीव्र बनेको छ । यसबाट विश्वभर तेल र ग्यास आपूर्ति प्रभावित भएको छ ।

आक्रमणको त्रासका कारण ठुला सिपिङ कम्पनीहरूले होर्मुज स्ट्रेटको बाटो प्रयोग गर्न छाडेका हुन् ।
मध्यपूर्वको तनावका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वभर तेलको मूल्य बढेको छ ।

