दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न

पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा

पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताएका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध सात गोष्ठीपत्र प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा प्राडा माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाहरूको अवस्था’, प्राडा कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको संगीत’, प्राडा ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटहरूको चिनारी र ऐतिहासिकता’, प्राडा जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेशामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

अतिथि प्रस्तोताका रूपमा डा गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वाल वाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राखेका थिए ।

Facebook Comments