घलेगाउँमा सिनेमा संवाद

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो ।

पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी, प्रस्तुतकर्ता –पत्रकार दीपक परियार ।

उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताएका थिए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।

निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गर्नुभयाे । उहाँले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिनुभयाे । चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताउनुभयाे । उहाँले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताउनुभयाे । उहाँले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताउनुभयाे ।

अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ उनले मूल कुरा सिनेमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो भने । उहाँले भन्नुभयाे, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’ उहाँले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरेको छ ।

कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गर्नुभयाे । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताउनुभयाे । उहाँले गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ, भन्नुभयाे ।

लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०÷६२ जिल्ला घुमेको स्मरण गर्नुभयाे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताउनुभयाे । ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उहाँले भन्नुभयाे, ‘अब काठमाडाैंको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’

अर्को सेसन थियो, सिनेमामा संगीत संस्कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गर्नुभयाे ।

खासमा चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ?

तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिनुभयाे ।

संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताउनुभयाे । कथामा पनि क्यारेन्टरअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उहाँको भनाइ छ ।

पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीत कालजयी हुन नसकेको सापकोटाको अनुभव छ । उहाँले भन्नुभयाे , ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’

प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताउनुभयाे । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उहाँले भन्नुभयाे, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’

सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा सदाबहार अभिनेत्री करिष्मा मानन्धरले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गर्नुभयाे । उहाँको साथमा अहिलेका पुस्तका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने सहभागी थियाे ।

सुव्रत न्यौपानेकाे गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूलकाे रूपमा व्याख्या गर्नुभयाे । उहाँले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गर्नुभएकाे हाे । एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताउनुभयाे ।

कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयाे ।

सिनेमा संवादको अन्तिम सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीवीचकाे छलफल थियाे । अन्य सेसनभन्दा लामो तर रोमाञ्चक बनेको उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गर्नुभएकाे थियाे ।

बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्नुभयाे । उहाँले राजनीतिसँग कुनै क्षेत्र पनि अलग रहन नसक्ने बताउनुभयाे । साथै उहाँले चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताउनुभयाे । उहाँले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिनुभयाे ।

चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताउनुभयाे । ।

चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गर्नुभएकाे थियाे । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायतले बाेल्नुभएकाे थियाे ।

सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।

Facebook Comments