समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएकाे छ ।

समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताउनुभयाे ।

‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्वपूर्ण प्रयास थिए ।’

अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयाे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिँदै आएको र सफल पनि भएको बताउनुभयाे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पूर्णकालीनरुपमा राजनीतिमा होमिनुभन्दा अगाडि तीन वर्ष अध्यापन गरेको सम्झना सुनाउनुभयाे। ‘मेरा आरुघाटसँगका सम्बन्धहरु अलि असाधारण प्रकृतिका छन् । एउटा व्यक्तिको जीवनमा दुई तीन वर्ष एउटा विद्यालयमा शिक्षकको रुपमा रहने ठूलो कुरा होइन तर त्यतिबेला जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने त्यो मेरो पहिलो अभ्यास थियो’ उहाँले भन्नुभयाे, ‘मैले त्यहाँ कक्षा कोठामा शिक्षण मात्रै गरिनँ, किसानहरुलाई प्रौढ कक्षादेखि कृषि पेशालाई आधुनिकीकरण गर्ने लगायतका काममा पनि सहयाेग गरेँ ।’

Facebook Comments