३० औ जनयुद्ध दिवस: सुप्रिमाे प्रचण्डलाई जनसेनाकाे खुल्ला पत्र
अध्यक्ष कमरेड प्रचण्ड लाल सलाम,
जनयुद्ध आफैमा एउटा गौरवशाली, ऐतिहासिक र महान प्रकृया थियो । शोषित, पिडीत र आम भुइँ मान्छेहरुको हक, अधिकार र आत्मसम्मानको लागि लड्दै जाँदा ती अपेक्षित लक्ष्यहरु कति हासिल गर्न सकिए एउटा पाटो होला तर आम जनतालाई आफ्ना हक अधिकारका लागि जागरुक र उद्धेलित बनाउने काम जनयुद्धले नै गरेको हो । जनयुद्धको जगमा प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता विषयहरुले गरिखाने वर्गको लागि खासै लाभ दिन नसकेपनि मेरो अधिकारको लागि म आफै नलडी, नबोली मैले अधिकार प्राप्त गर्न सक्दिन भन्ने मानसिकताको विकास भएको छ । जनयुद्धको प्रमुख उपलब्धी त्यो नै हो । तेहि नरुचाउने को नजरमा जनयुद्ध हिंसात्मक हो खैर यसमा चिन्तालिन आवश्यक छैन। यो बलिदान बाट बनेको ईतिहास हो।
मेरो अनुभुती
अध्यक्ष कमरेड,
केही सिमित व्यक्तिहरुको प्रयासमा सुरुभएको जनयुद्धको राप र ताप देशैभरि फैलदै जादा देशको अवस्था समाजको परिवेश र प्रसव वेदनामा छटपटिरहेको समयले असिम पीडाहरुबाट मुक्ति पाउन नजानिदो पाराले सारा विश्व तरङगित भइरहेको बेला म र म जस्ता निम्न मध्यम वर्गको प्रतिनित्वि गर्ने व्यक्तिहरुलाई जनयुद्धमा सामेल हुन धेरै सोचिरहनै परेन । हल्लैहल्लामा मात्र माओवादी कार्यकर्ताहरुका कथा र योद्धाहरुको गौरवगाथा सुनेको व्यक्तिलाई आफ्नै विद्यालयमा माओवादीको कुनै नेता आएर संगठित हुन अनुरोध गर्छ भने के खोज्छस् कानो आँखो हुने नै भयो । कक्षा छ मा पढ्दै गर्दा माओवादी विचारलाई नबुझे पनि संगठित लालायित हुने त्यो बेलाको म र आजको म मा धेरै फरक छ ।
माओवादीसँग सम्बन्धित कुनै पनि कागजात भेटिदा समेत राज्यसत्ताले आफ्नो सम्पुर्ण शक्ति लगाएर दमन गर्ने तत्कालिन अवस्थामा उज्जवल भविष्यको अपेक्षा राख्दै मेरी आमाले खाईनखाई अरुको ज्याला मजदुरीगरि स्कुल पढ्न पठाएको छोरो बुर्जुवा शिक्षा एकातिर थन्काएर देश परिवर्तनका खातिर ग्रिनेट र बारुदको झोला बोकेर युद्धयात्रामा लामबद्ध हुने निर्णय गर्नु आफैमा महान कदम थियो । माओवादी पार्टी शान्ति प्रकृयामा आएको दशकौ वितिसक्दा पनि मसँगै पुर्णकालिन भएका, मसँगै जनमुक्ति सेनामा लामबद्ध भएका अनेकौ योद्धाहरुलाई स्मरण गरिरहेको छु ।
मेरो सुझाब र प्रतिबद्धता
अध्यक्ष कमरेड,
युद्धको समाप्ती र शान्तिप्रकृयाको सुरुवात पछि संसदीय राजनिती मा हिडेको तपाईं संसदीय खेलाडि त हुनुभयो तर यस्तो खेलले ती महान मान्छेको सपनना भने कदापि फर्किन छैन । आफन्त र विरोधीहरुले समेत तैले बन्दुक बोकेर के पाइस् भनेर खिसिट्युरी गरिरहदा मनमा किन्चित दुख नमान्ने र झन् गर्व छात्ती चौडा हुने म मैले बोकेका बिद्रोह को बन्दुक व्यक्तिगत रुपमा केही पाउन थिएन र अझैसम्म पनि केही पाउछु भन्ने लोभ छैन। मुक्ति या मुत्युको कसम खादै जुन दिनदेखि पुर्णकालिन भइयो थाहा थियो अब जीवन जटिल र चुनौतीपुर्ण पनि छ तर पुर्णकालिन हुने निर्णयसँगै हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्दै अघि बढ्ने दृढसंकल्प पनि थियो । जिल्ला पार्टीले कार्यक्षेत्र भुगोलबाट फुलमाला र अविर लगाएर जनमुक्ति सेनामा पठाउदा छुट्टै किसिमको उर्जा थियो । जे थियो निस्वार्थ थियो । न केही पाउने आशा न केही गुमाउने डर । त्यसैले पनि होला आज पर्यन्तपनि त्यो समयलाई याद गर्दा गर्व लाग्ने गर्छ ।

जनमुक्ति सेना बनेर जनताको आँगन घर दैलोमा पुग्दै गर्दा युद्धकालका प्रत्येक क्षणहरु कुनै थ्रिलर चलचित्त भन्दा कम थिएनन र लाग्दैनन् शहिद भएका सहयोद्धाहरुले छोडेर गएको क्रान्तिको झन्डालाई झुक्न नदिने जिम्मेवारीले अझै पनि झकझकाई रहेको छ । आज नाफको जिन्दगी बाँचिरहेका एक योद्धा को नाताले। सिँगो जनयुद्धले पैदा गरेको आयामहरुको वर्तमान समयमा प्राप्तका गरेको नाफाघाटा र त्यसलाई प्राप्त गर्न कैयौले गरिरहेको छिनाछपटीको मुकदर्शक भएर हेर्ने , धरातल बिर्सदै गएको माओवादी पार्टी फेरी पनि जनतासँग जोडियोस् भन्ने बाहेक कुनै ठुलो अपेक्षा गरेका छैनन । मैले र मजस्तै योद्धाहरुले जनयुद्धमा कति समय विताए, कस्तो भुमिका निभाएँ, आन्दोलनले दिएको जिम्मेवारी तत्कालिन समयमा इमान्दार ढँगले निभाउन सके या सकेनन् त्यो इतिहासले मुल्याँकन गर्ने कुरा हो । तर आफ्नो जीवनको स्वणिम समय युवावय देश र जनताको लागि होमेका, मुक्ति या मृत्युको कसम खाएर लडेका योद्धाहरुको मुक्तकण्ठले प्रसँशा गर्न सकिदैन भने पनि इतिहासलाई विद्रुपीकरण नगरिदेओस् भन्ने आशा मात्र हो ।
जनयुद्ध सुरु हुदैगर्दा र समापन हुदैगर्दा पनि आम योद्धा, शहीद र जनताले देखेको माओवादी पार्टी अहिले जहाँ छ त्यो कदापी होइन । जनयुद्धका प्राप्त उपलब्धीहरु निरन्तर क्षयीकरण हुने दिशामा छ तर हामी नजरअन्दाज गरिरहेका छौ । जनयुद्धको विरासत र माओवादी आन्दोलनलाई पुर्णरुपमा सिध्याउने हो भने अलग कुरा नत्र वर्तमान समयमा हामी जुन अभ्यास गरिरहेका छौ शहिद, शहिद परिवार, घाइते, अपाङ र आम जनता कार्यकर्ताहरुको चहाना कदापि होईन कमरेड, धेरैले धेरै फाइदा उठायो तपाईंको महानता र सोझोपनाको । माग्नेलाई दिदा दिदा आफू रित्तिदै जानुभएको छ । आफ्नो दरो खुट्टा हुँदाहुदै परालको खुट्टामा उभिन खोज्दा धेरै चोटि लड्नुभएको छ । धेरै खरानी घस्नेलाइ विश्वास गर्दा अनगिन्ती धोकाहरु पाउनु भएको छ ।
माथि मात्रै हैन कमरेड। यहाँ तल सम्मै त्यस्तै छ । त्यस्तै सुनिन्छ, भनिन्छ र देखिन्छ । तपाई त माथीकै लडाइँमा ब्यस्त हुनुहुन्छ । तलको विचित्र कहिले देख्ने र कहिले सुन्ने कमरेड ? सबै त त्यस्ता छैनन कमरेड, तर धेरै जसोमा कसैले कसैलाई चिन्दैन, गन्दैन र मान्दैन । सल्लाह लिदैन, सल्लाह दियो, राम्रो कुरा गर्यो भने गुट बनाउन खोज्यो भनेर छिर्किनी लाउछन, लडाउछन र बाटो छेक्छन । प्रगतिमा डाहा ईष्र्याको त के कुरा गर्नु र ? यहाँ येस्तै त्यस्तै छ । यसरी पार्टी बन्ला र अध्यक्ष कमरेड ?
हिजोआज तपाईंले कमान्ड गर्नुभएको पार्टीमा सामन्तवादका ठेकदारको प्रवेश हुँदा फुलमाला र अबिर जात्राका साथ स्थान मिल्नेछ । म जस्तै एउटा समाजोजन मा गएर आएका क्रान्तिकारी योद्धालाई तपाईंको मिसन पुरागरि पुनः पार्टी काममा फर्कन खोज्दा किन ? विभेद हुन्छ ।
मलाई त केही छैन कमरेड, सान को जिवन नभए नि खोस्रदा खाना पुग्ने खोरिया छ । त्यसैले कर्तव्यनिस्ठ नै छु जस्तो लाग्छ । डर पटक्कै छैन, रत्तिभर । सांसद, मन्त्री भएर ठुलो नेता बन्ने धोको छैन मेरो । मृत्यु पश्चात् एउटा झण्डाको शासमा सकेको सेवा गरिनैराको छु । गरिव जनताको भविस्यप्रती चिन्तित छु । त्यसैले त लेख्छु, बोल्छु र लड्छु अन्याय र अत्याचारको विरुद्धमा । एकमुठी सास रहेसम्म लेखिनै रहने छु, बोलिनै रहने छु र लडिनै रहने छु ।
कमरेड, असत्यको जित र सत्यको हार कहाँ पो भएको छर यहाँ । हामीले कहिले पो हारेका छौ र । मात्रै चिन्ता प्रवृत्तिको हो, संस्कारको हो कमरेड । बिचारमा खोट छैन । बाटोको अवरोध त पन्छाउदै अघि बढ्ने हो । ढिला नगरौ कमरेड । जो जहाँ छ, त्यही बसेर निर्मम समिक्षा गरौ, गराऔ र प्रश्न गरौ कमरेड ।
हँसियाबाट छुट्टिएको हथौड़ा, वादबाट छुट्टिएको बिचार, नितीबाट छुट्टिएको नेतृत्व, जनताबाट छुट्टिएको नेता, मुटुबाट छुट्टिएको मनलाई जोड्न ढिला नगरौं । बादल फाटेपनी आकाश खसेको छैन, बेर्ना सुकेपनी बीउ मरेको छैन। तपाईंको नीति कार्यकारी जनताबाट निर्वाचित राष्ट्र प्रमुख मुख्य एजेन्डा संसदमा बुलन्द होस् सबै सम्भव छ कमरेड । देश र जनताको लागि हामीले जित्नै पर्छ र जित्छौं ।लेखाईको प्यास अलिकति पनि तृप्त नहुदै अलि लामो भए जस्तो लाग्यो कमरेड । त्यसैले बाकी भेटमा वा अर्को पत्रमा कोर्ने बाचा गर्दै कलम बन्द गर्छु ।,
क्रान्तिकारी अभिवादन सहित ।
उहीँ तपाइको सिपाही सविन न्याैपाने क. अग्नी ।

