माैसमः तराईका अधिकांश भू-भागमा गर्मी बढ्ने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

महाशाखाकाले देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

त्यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

महाशाखाले मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको उल्लेख गरेकाे छ।

विहीबार राती कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी  र  कर्णाली  प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । 

Facebook Comments